काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले मधेशसहित देशका विभिन्न क्षेत्रमा किसानले रासायनिक मलको अभाव झेलिरहेको उल्लेख गर्दै सरकारले पर्याप्त मल आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताएका हुन्।
उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको भन्दै उनले त्यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल रहेकाले समयमै पूर्वतयारी आवश्यक हुने प्रचण्डको भनाइ छ। आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरतालाई बुझेर समयमै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको उनले स्मरण गराएका छन्।
प्रचण्डले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
साथै, आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरणको व्यवस्था मिलाउन उनले आग्रह गरेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।