काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल–भारत कानूनी सम्बन्ध सुदृढ बनाउन पहल लिएको छ।
यही सिलसिलामा काठमाडौंमा भारतीय कानुनी संस्थाहरूका विशिष्ट नेपाली पूर्वविद्यार्थीहरूका लागि शनिबार एक कार्यक्रम आयोजना गरियो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा भारतीय कानूनी संस्थाका पूर्वविद्यार्थी, सर्वोच्च अदालतका न्यायाधीशहरू, न्यायपालिकाका वरिष्ठ सदस्यहरू, पूर्वमहान्यायाधिवक्ताहरू, कानुनी तथा शिक्षा क्षेत्रका विशिष्ट सदस्यहरू तथा युवा कानून व्यवसायीहरूको सहभागिता रहेको भारतीय दूतावासले जनाएको छ।
सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन पूर्वविद्यार्थी सञ्जालको दिगो महत्त्वमाथि प्रकाश पारे।
भारतीय कानूनी संस्थाहरूका नेपाली पूर्वविद्यार्थीहरूको संघको शुभारम्भ पनि गरिएको थियो। संघले कानूनी तथा शैक्षिक क्षेत्रमा सहकार्यलाई थप प्रगाढ बनाउन तथा भारत र नेपालबीचको लामो समयदेखिको मित्रतालाई सुदृढ पार्न एक मञ्च प्रदान गर्ने विश्वास दूतावासले लिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।