काठमाडौं– त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालका लागि स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयमा लिएको प्रवेश परीक्षामा विद्यार्थीको चाप देखिएको छ।
देशभरि तीन हजार एक सय आठ कोटाका लागि लिइएको महत्वपूर्ण र आकर्षक मानिएको उक्त विषयको प्रवेश परीक्षामा करिब तेब्बर विद्यार्थी सहभागी भएका छन्। त्रिविका अनुसार, आठ हजार पाँच सय ७८ विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए।
उक्त शैक्षिक कार्यक्रम देशका ६१ वटा क्याम्पसमा सञ्चालित छ।
अप्टिकल मार्क रिकग्निसन प्रणालीबाट सञ्चालित परीक्षामा दुई घण्टाको समय तोकिएको र १०० वटा वस्तुगत प्रश्न सोधिएको त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. कोमलराज रिजालले जानकारी दिए।
गत वर्षको प्रवेश परीक्षामा करिब सात हजार सात सय विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए।
यस पटक काठमाडौं उपत्यकाभित्र ८ र उपत्यकाबाहिर १३ गरी जम्मा २१ वटा परीक्षा केन्द्रमा भएको प्रवेश परीक्षाको उत्तरपुस्तिका आइतबार नै संकलन गरी नतिजा प्रकाशन गर्ने योजना बनाइएको छ।
त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकरप्रसाद खनालले काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरूको अवलोकन तथा निरीक्षण गर्दा परीक्षा सुव्यवस्थित रूपमा सञ्चालन भएको तथा यो विषयप्रतिको आकर्षण निरन्तर रूपमा बढिरहेको जिकिर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।