भक्तपुर– खाना पकाउने एलपी ग्यासको एउटा सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् । उनले सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले उपभोक्तालाई प्रति सिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली पसलमा पुगेको थियो ।
प्रहरीले पसलमा चेकजाँच तथा अनुगमन गर्दा ३ थान ग्यास सिलिन्डर फेला पारेको थियो । बजार मूल्यभन्दा कयौँ गुणा बढी मूल्यमा ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले त्वयनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ परेका त्वयनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।