काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाइएको जनाएको छ।
केन्द्रले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएयता ८५३ सरकारी कार्यालयहरूको अनुगमन गरी आचारसंहिता पालना नगर्ने ८ हजार ८३० कर्मचारीलाई कारबाही गर्न अख्तियारवाला निकायलाई निर्देशन दिएको जनाएको छ।
केन्द्रकी उपसचिव सरिता कुमारी खतिवडाले निर्देशनबमोजिम सम्बन्धित कार्यालयहरूले कर्मचारीमाथि कारबाही गरिरहेको जानकारी दिइन्।
उनले नेपाललाइभसँग शुक्रबार भनिन्, ‘कारबाही गरिएको भन्दै जानकारी आइरहेको छ। यो क्रम जारी रहेकाले कारबाहीको संख्या यकिन भइसकेको छैन।’
यस्तै, केन्द्रले राष्ट्रिय योजनाहरूको प्राविधिक परीक्षण, सेवा प्रवाहमा हुने ढिलासुस्ती रोक्न फाइल ट्र्याकिङ र सेवाग्राही सन्तुष्टि सर्वेक्षणलगायतका काम पनि गरिरहेको जानकारी दिएको छ।
केन्द्रलाई थप अधिकारसम्पन्न बनाउन सतर्कता ऐन तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई देशभर व्यापक र बलियो बनाइने केन्द्रको भनाइ छ।
सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शंकास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन नं. ०१–४२००३४५ मा फोन गरेर दिन सकिने केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।