काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। सर्वोच्चले यसअघि भएको फैसलामाथि पुनरवलोकन गर्न अनुमति दिएसँगै बहुचर्चित विवाद पुनः न्यायिक परीक्षणमा जाने भएको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरवलोकनको निवेदन स्वीकार गरेको हो। अब यस मुद्दामा सर्वोच्चले फेरि विस्तृत सुनुवाइ गर्नेछ।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसअघिको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै छुट्टाछुट्टै पुनरवलोकन निवेदन दर्ता गरेका थिए। देउवाले साउन ६ गते र खड्काले साउन १२ गते सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।
उनीहरूले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिने फैसलाको पूर्णपाठ अध्ययनपछि त्यसमा स्थापित कानुनी नजिर, न्यायिक सिद्धान्त तथा प्रचलित कानुनको उचित व्याख्या नभएको जिकिर गरेका छन्। निवेदनमा न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासबाट भएको फैसला पुनः परीक्षण हुनुपर्ने माग गरिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि सभापति गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएको थियो। आयोगको उक्त निर्णयलाई सर्वोच्च अदालतले गत वैशाख ४ गते सदर गरेको थियो।
त्यस निर्णयप्रति असहमति जनाउँदै देउवा र खड्काले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पुनरवलोकनको अनुमति प्राप्त भएसँगै कांग्रेसको आधिकारिकतासम्बन्धी विवादले फेरि नयाँ कानुनी मोड लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।