काठमाडौँ– नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले संसद्मा सांसदहरूलाई प्रश्न नसोध्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न नसोध्न चेतावनी दिएका थिए ।
त्यसपछि बैठकमा बेलेका कांग्रेस सांसद रञ्जित कर्णले लोकतान्त्रिक र संसदीय व्यवस्थामा मन्त्रीले सांसदहरूलाई प्रश्न सोध्नबाट रोक्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।
गृहमन्त्रीले बैठकमा निर्मला पन्त हत्या प्रकरण लगायतका विषयमा प्रश्न नसोध्न र व्यक्तिगत रूपमा भेटेर बुझ्न भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद कर्णले भने- ‘संसदीय व्यवस्थामा जनताको आवाज मन्त्री र प्रधानमन्त्रीसँग सोध्ने माध्यम नै सांसदहरू हुन्। मन्त्रीजीले ‘यो प्रश्न नसोध्नुस्, नसोधिदिनुस्’ भन्नुमा मेरो गम्भीर आपत्ति छ।’
कर्णले दुई तिहाइ नजिकको सरकारका मन्त्रीले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुको साटो उल्टै सांसदहरूलाई नै प्रश्न नगर्न चेतावनी दिनुले सरकारको जबाफदेहितामाथि प्रश्न उठाएको बताए ।
‘मन्त्रीजीलाई सांसदका कुराको जवाफ दिनु जरुरी नहुन सक्छ, तर हामीले प्रश्न सोध्न पाउनुपर्छ, यो हाम्रो अधिकार हो,’ सांसद कर्णले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।