काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले फरेन्सिक तथा जैविक नमुना दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पुनले यस्तो फरेन्सिक नमूना सुरक्षित रूपमा दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथिको छलफलका क्रममा उहाँले नमूना भण्डारण अवधि र व्यवस्थापनसम्बन्धी प्रावधान नियमावलीमार्फत स्पष्ट पार्नुपर्ने बताए । उनले विधेयकमा फरेन्सिक नमूना भण्डारणको व्यवस्था गर्नुपर्ने व्यवस्था राख्दै नियमावलीमार्फत कुन प्रकारको नमुना कति समयसम्म भण्डारण गर्ने भनी निर्धारण गर्नुपर्ने बताए ।
जैविक नमूनाको प्रकृति र उपयोगिता फरक हुने भएकाले वैज्ञानिक आधारमा भण्डारण अवधि तोकिनुपर्ने मन्त्री पुनको भनाइ छ । उनले सरकारले माइनस २० डिग्री सेल्सियस र माइनस ८० डिग्री सेल्सियस तापक्रममा फरेन्सिक तथा जैविक नमूना भण्डारण गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।
कुनै मुद्दाको अनुसन्धान वा न्यायिक प्रक्रिया जारी रहेसम्म आवश्यक प्रमाण सुरक्षित राख्नुपर्ने भएको कारण यसको आवश्यकता रहेको उनको भनाइ छ ।
उनले भने, ‘स्याम्पल भण्डारण गर्ने कुरा त ऐनमा लेखिएला । तर कुन चिजलाई कति समय तोक्ने भन्ने कुरा त नियमावलीमा लेख्नुपर्ला । जहाँसम्म अनन्त कालसम्म स्टोरेज गर्ने भन्ने कुरा सम्भव छैन भन्ने कुरा आयो । त्यो कति समयसम्म एउटा समय भण्डारण गर्ने भनेर समय तोक्नुपर्छ । अनि नुमना पनि स्टोरेज हुन सक्ने किसिमको पनि हुनुपर्यो । अनि यो स्टोरेज गर्ने क्यापेसिटी त सरकारले बनाउनुपर्यो नि । यो माइनस २०, र माइनस ८० डिग्री सेल्सियसमा राख्ने स्टोरहरू त बनाउनुपर्यो । नियमावलीमा अवधि तोकिदिने त्यसपछि डिस्पोज गरिदिने ।’
उनले फोटो, अभिलेखलगायत डिजिटल प्रमाणका हकमा दीर्घकालीन डिजिटल भण्डारण सम्भव भएकाले त्यस्ता सामग्री सुरक्षित अभिलेखीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।