काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई-मधेशका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशमा गम्भीर परिस्थिति उत्पत्तिका कारणहरू, झडपका घटनाहरू तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्ने निर्णय गरेको हो ।
बैठकले पछिल्लो समय सामाजिक सद्भाव कायम राख्न विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सामाजिक क्षेत्रबाट भएका पहलको स्वागत गरेको छ । यस्ता प्रयासलाई निरन्तरता दिन सबै पक्षसँग आग्रह पनि गरिएको छ ।
बैठकले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई राष्ट्रिय एकताको आधारका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । साथै वर्तमान संवेदनशील परिस्थितिमा सरकारले आवश्यक राजनीतिक संवेदनशीलता देखाउन नसकेको आरोप लगाउँदै संवाद, विश्वास निर्माण र समस्याको राजनीतिक समाधानतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर पार्ने तथा सामाजिक द्वन्द्व भड्काउने कुनै पनि गतिविधिप्रति सचेत रहन आमनागरिकलाई नेकपाले आह्वान गरेको छ । साथै यस्ता विभाजनकारी प्रयासलाई असफल बनाउन लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ ।
बैठकले पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल र संघसंस्थासँग संवाद, बैठक तथा सद्भाव र्याली सञ्चालन गरी सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।
यसैगरी तराई–मधेशमा विकसित परिस्थितिलाई राष्ट्रिय हितअनुसार समाधान गर्नुपर्ने उल्लेख गर्दै सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आमजनतालाई संयम, आपसी विश्वास, निरन्तर संवाद तथा जिम्मेवारीपूर्ण व्यवहारका साथ अघि बढ्न नेकपाले अपिल गरेको छ ।
बैठकले वर्तमान परिस्थितिमा राजनीतिक तिक्तता बढाउनेभन्दा राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।