काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार ललितपुर महानगरपालिका २३ धापाखेलबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरणमा भण्डारीलाई पक्राउ गरिएको हो ।
लाइसेन्स खारेजीपछि सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरणमा भण्डारीको भूमिकामाथि प्रश्न उठेको थियो ।
दूरसञ्चार प्राधिकरणले २०८० वैशाखमा स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको थियो । टेलिकमले सरकारलाई बुझाउनुपर्ने नवीकरण दस्तुर र रोयल्टीबापत करिब ३० अर्ब रुपैयाँ राजस्व नतिरेपछि उसको लाइसेन्स खारेज गरिएको थियो ।
लाइसेन्स खारेजपछि कम्पनीका सम्पूर्ण पूर्वाधार, टावर तथा नेटवर्क प्रणाली प्राधिकरणको नियन्त्रणमा आएको थियो । उक्त सम्पत्ति लिलामीमा अनियमितता गरिएको आरोप उनीमाथि छ ।
यसका साथै भण्डारीले प्राधिकरणको अध्यक्ष नियुक्तिका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप छ ।
उनलाई २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।