काठमाडौं– प्रधानमन्त्रीले बालेन्द्र शाहले पछिल्लो घटनाप्रति सरकार अत्यन्तै संवेदनशील रहेको बताउँदै निष्पक्ष छानबिन हुने र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन प्रयास भइरहेको जानकारी दिए। घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन भइसकेको र समितिले निष्पक्ष रूपमा अनुसन्धान गर्ने उनले बताए।
प्रधानमन्त्रीले अवस्था थप जटिल हुन नदिन सरकार सक्रिय रूपमा काम गरिरहेको उल्लेख गर्दै स्थानीय अवस्थाको अनुगमन तथा पीडितसँग संवाद गर्न गृहमन्त्री घटनास्थल पुगिसकेको जानकारी दिए।
उनले संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट भ्रम फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरे। आगामी दिनमा पनि राज्य थप संवेदनशील ढंगले परिचालित हुने र आवश्यक सबै संयन्त्र परिचालन गरिने उनको भनाइ थियो।
प्रधानमन्त्रीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म र संस्कृतिको स्वतन्त्र रूपमा पालना गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै एक घटनाका आधारमा सम्पूर्ण समुदायमाथि आरोप लगाउनु न्यायोचित नहुने बताए।
उनले सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई कायम राख्न सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिए। "हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्छ," उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।