काठमाडौं– मधेशवादी नेताहरुले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन्।
नेताहरुले सामूहिक रुपमा वक्तव्य जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र निःशुल्क उपचार तथा आवश्यक राहतको व्यवस्था गर्न माग गरेका हुन्।
साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन्।
घटनापछि भएको प्रहरी हस्तक्षेप र बल प्रयोगका विषयमा गम्भीर प्रश्न उठेकाले यसको सत्यतथ्य निष्पक्ष र पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति आश्वस्त पार्नुपर्ने नेताहरुको निष्कर्ष छ।
त्यस्तै, घटनामा मृत्यु भएका व्यक्तिलाई राज्यले तत्काल सहिद घोषणा गरी उचित क्षतिपूर्ति, परिवारका सदस्यका लागि रोजगारी तथा आवश्यक सामाजिक सुरक्षा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
घटनामा कुनै बाह्य तत्व, रोहिङ्गिया वा अन्य संगठित समूहको संलग्नता भए–नभएको विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउँदै अफवाहका आधारमा नभई तथ्यका आधारमा सत्य सार्वजनिक गर्न आग्रह गरिएको छ।
त्यसैगरी, घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले आवश्यक कदम चाल्नुपर्ने र दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीलाई छानबिन अवधिसम्म निलम्बन गरी सुरक्षा व्यवस्थाको कमजोरी तथा बल प्रयोगको औचित्यमाथि अनुसन्धान गर्न माग गरिएको छ।
मधेसका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा दोहोरिँदै आएका तनावपूर्ण घटनाले मधेसलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको हो कि भन्ने आशंका बढेको भन्दै त्यसबारे समेत राज्यले निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्नुपर्ने नेताहरुको माग छ।
उनीहरुले सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन्।
साथै, सम्पूर्ण नागरिकलाई संयम, धैर्यता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै कुनै पनि अफवाह, घृणा र उत्तेजनाले समाजलाई थप विभाजित बनाउनेमा सतर्क गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।