सिरहा– सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ। कर्फ्यु २०८३ साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू रहने छ।
कर्फ्यु पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म लागू गरिएको छ। यस्तै उत्तरतर्फ गोलबजार वडा नम्बर ६ स्थित सैनिक चौकदेखि दक्षिणतर्फ गोलबजार वडा नम्बर ४ को रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
कर्फ्यु आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सबैको सहयोगको अपेक्षा गरेका छन्। कर्फ्यूको बर्खिलाप हुने गरी कुनै गतिविधि भए वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत प्रशासनले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।