काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत खुला सीमाको सुरक्षाबारे गम्भीर समीक्षा गर्दै सीमा व्यवस्थापनका लागि पर्खाल वा काँडेतार लगाउने विषयमा सरकारले तत्काल निर्णय लिनुपर्ने माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले प्रहरी महानिरीक्षक (आईजीपी) ले नेपालमा रोहिङ्ग्या शरणार्थीको चुनौती रहेको जानकारी सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको घटनाले गम्भीर प्रश्न उठाएको बताइन् ।
‘आईजीपीसाबले हाम्रो देशमा रोहिङ्ग्या शरणार्थीको चुनौती छ भन्नुभएको समाचार सार्वजनिक भएलगत्तै सुनसरी जिल्लामा हिन्दु र मुस्लिमबीच झडप हुनुले आज गम्भीर प्रश्न खडा गरेको छ । आईजीपीले सीमा र आन्तरिक सुरक्षाको जानकारी सार्वजनिक गरेर नेपाली समाजमा डर र आक्रोश पैदा गर्ने हो कि आन्तरिक रणनीतिले सुरक्षा प्रदान गर्ने हो ?,’ उनले भनिन्, ‘अब खुला सिमाना के गर्ने हो भनेर सोच्ने बेला आइसकेको छ । नेपालको खुला सिमाना सुरक्षित बनाउन पर्खाल भए पर्खाल नभए काँडेतार लगाउन चारवटै सुरक्षा निकाय तत्काल परिचालन गर्न म जोडदार माग गर्दछु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।