काठमाडौं– सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी लगायतका स्थानमा भड्किएको शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बताएका हुन् ।
सर्वदलीय बैठकमा दलका नेताहरूले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेको छ । नेता आङ्देम्बेले यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरेर अघि बढ्नुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको बताए ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा छलफल भएको जानकारी दिए । उनले भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको छ भन्ने विषयमा दलका नेताहरूले चासो प्रकट गरेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।