विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा जारी कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन भएपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार कर्फ्यु लागू गरिएपछि पनि प्रदर्शनकारीहरूले प्रदर्शन जारी राखेपछि हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो।
हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।