फाइल तस्बिर
काठमाडौं– सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ ।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको उनले बताए । बख्तरबन्ध गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएको र त्यसपछि प्रदर्शनकारी तितरबितर हुन थालेका कारण अवस्था सामान्यतर्फ उन्मुख भएको जानकारी घिमिरेले दिए । तर,सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका थिए ।
कर्फ्यु लागू भए पनि बिहान करिब १० बजेदेखि करिब एक हजारको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएका थिए । पसलहरूमा आक्रमण हुन थालेपछि स्थानीयमा त्रास फैलिएको थियो भने सर्वसाधारण ज्यान जोगाउन भागदौड गर्न बाध्य भएका थिए ।
एउटा पक्ष प्रदर्शनमा उत्रिएसँगै अर्को पक्ष पनि भेला हुन थालेपछि थप साम्प्रदायिक वा हिंसात्मक घटना हुन नदिन सेना परिचालन गरिएको प्रशासनले जनाएको छ । कप्तानगन्जको घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा बिहानदेखि नै सवारी आवागमन प्रभावित भएको छ ।
राजमार्गमा सवारी साधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् । फिल्डमा खटिएका सुरक्षाकर्मीले सम्झाइबुझाइ गर्दै यातायात सञ्चालन गराउने प्रयास गरे पनि सम्भव भइरहेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।