काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका लागि भजन बजाएपछि मुस्लिम समुदायद्वारा आक्रमण र त्यसपछि निम्तिको हिंसामा एक जनाको मृत्यु भएको छ ।
विवाद उग्र बनेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । यही घटनाका सम्बन्धमा सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले घटनालाई ‘अत्यन्तै गम्भीर र खेदजनक’ बताएका छन् ।
घटनास्थल पुगेर सुरक्षा निकायसँग छलफल गरेका थापाले प्रहरीले गोली चलाउनु नपर्ने अवस्था रहेको दाबी गर्दै घटनाका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले गोली लागेका सबै व्यक्तिको अवस्थाबारे यकिन गर्न र कतै अन्य घाइते लुकेर बसेका वा उपचार नपाएर अलपत्र परेका छन् कि भनेर पुन: खोजी गर्न प्रशासनलाई आग्रह गरेका छन् । ‘मान्छे कहिँकतै लुकेको, ढलेका छन् कि एकपटक सर्च गरौं,’ सांसद थापाले भने ।
उनीसँग एक प्रहरी अधिकृतले भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सर्च गरेको तर त्यस्तो अवस्थाका व्यक्ति फेला नपारेको बताएका छन् ।
सांसद थापाले घटना अत्यन्तै गम्भीर र दर्दनाक भन्दै नागरिकमाथि यसरी गोली चलाउनु खेदजनक भएको बताए । उनले यस घटनामा गोली चलाउनुपर्ने अवस्थै नभएको समेत जिकिर गरेका छन् । ‘कुनै पनि हालतमा काहीँ पनि गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन यो घटनामा,’ सांसद थापाले भनेका छन् ।’
उनले यस घटनामा प्रशासन र सुरक्षा निकायबीच समन्वय अभाव भएको आशंका गरे । हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउने काम स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । ‘जसले गर्यो यो खेदजनक छ । अत्यन्तै गर्नै नहुने काम भयो,’ उनले भनेका छन् ।
घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।