विराटनगर– विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन् ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख (उपसचिव) मिक्मार तामाङ ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।
दोलखाको भिमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाँदै गर्दा पक्राउ परेका हुन् ।
विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको ब्यागभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको थियो ।
विमानस्थलमा खटिएका एक सुरक्षकर्मीले तामाङलाई बरामद रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएको पुष्टि गरे ।
सामान्यतया स्रोत नखुलेको ठुलो रकमसहित कोही पक्राउ परेमा प्रहरीले तत्काल पत्रकार सम्मेलन गरी वा विज्ञप्तिमार्फत सार्वजनिक गर्ने गर्दछ । तर, उपसचिव तहकै कर्मचारी पक्राउ पर्दा भने घटनालाई मोरङ प्रहरीले गोप्य राखेको छ ।
आर्थिक वर्षको अन्त्य (साल तमामी)मा हुने भुक्तानी र योजनाहरूबाट संकलन गरिएको कमिसनको रकम लिएर उनी काठमाडौं जान लागेको आशंका गरिएको छ । असार मसान्तको सेटिङको पैसा बोकेर शक्तिकेन्द्र फकाउन काठमाडौं हिँडेका कर्मचारीलाई जोगाउन माथिल्लो तहबाटै दबाब आएको हुनसक्ने एक कर्मचारी बताउँछन् । आफन्तको पैसा लगिदिएको भनेर उनले सूचना दिएको प्रहरीको दाबी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।