काठमाडौँ– पछिल्लो केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्यांकअनुसार बाढी पहिरो, डुबानलगायत कारणले पाँचवटा प्रदेशका दर्जनौँ सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।
कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ हाल एकतर्फी मात्र यातायात सञ्चालनमा छ। यस्तै, इलामको मेची राजमार्ग र खोटाङको मध्य पहाडी लोकमार्ग (दिक्तेल रुपाकोट खण्ड) पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाममा भने वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।
बागमती प्रदेशका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको जोखिम बढेको छ। विपद् व्यवस्थापनका लागि बिपी राजमार्ग (काभ्रे खण्ड)मा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सवारी साधन चल्न निषेध गरिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गका दुई स्थान (जिरोकिलो र कोदारी) मा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द छ। दोलखाको लामासाँघु-रामेछाप राजमार्ग पनि बाढीका कारण ठप्प छ।
गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले ठूलो क्षति पुर्याएको छ। बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर-मनाङ सडक खण्ड र म्याग्दीको बेनी-जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। यी क्षेत्रमा यातायात पूर्ण रूपमा ठप्प हुँदा यात्रुहरू मर्कामा परेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।