सुर्खेत–कर्णाली प्रदेशको सुर्खेतस्थित गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्। सपम्ता क्षेत्रबाट गुमीतर्फ जाँदै गरेको क।प्र। ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएका छन्। अधिकांशको उपचार मेहेलकुना अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेलाई प्रदेश अस्पताल वीरेन्द्रनगर, कर्णाली केयर अस्पताल र अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये केहीको टाउको, ढाड र हातखुट्टामा गम्भीर चोट लागेको छ। पाँच वर्षीय बालक, ४० वर्षीय एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।