काठमाडौँ– बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको जनाकारी दिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव नियन्त्रणमै रहेको महाशाखाले जनाएको छ।
प्रमुख नदीहरू सुरक्षित रहे पनि देशका विभिन्न १२ जिल्लामा भने साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिइएको छ। आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने सा-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
महाशाखाले आगामी दुई दिनको सम्भावना प्रस्तुत गर्दै भनेको छ, ‘साउन ६ र ७ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही सा-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्छ।’ नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।