काठमाडौं– प्रधानमन्त्री बालेन शाहले संविधान संशोधनका लागि अब १–२ दिनमै बहसपत्र ल्याउने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङ र राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीसँगको भेटमा प्रधानमन्त्रीले बहसपत्र ल्याउन लागेको जानकारी गराएका हुन्।
भेटका क्रममा संविधान संशोधनको बहसपत्र, स्थगित स्वास्थ्य बिमा कार्यक्रम, कृषि मल आपूर्ति तथा सुकुम्वासी व्यवस्थापन लगायत समसामयिक राष्ट्रिय विषयमा छलफल भएको ओलीले बताइन्।
स्वास्थ्य बिमा नहटाएको हुन्थ्यो भन्ने राप्रपा अध्यक्षको भनाइमा प्रधानमन्त्रीले उक्त कार्यक्रम अस्थायी रूपमा मात्र बन्द गरिएको बताएको जानकारी गराएकी छन्।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘स्वास्थ्य बिमा प्रणालीभित्र देखिएका विकृति, अनियमितता र दुरुपयोगलाई सुधार गर्ने उद्देश्यले हाललाई अस्थायी रूपमा मात्र रोकिएको हो। सरकारले आवश्यक सुधारपछि स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा ल्याउँछ।’
यस्तै, युरिया मलको आपूर्तिबारे सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको र किसानलाई पुस माघसम्म अभाव हुन नदिने गरी पर्याप्त मल उपलब्ध गराउने तयारी भइरहेको जानकारी प्राप्त भएको बताइन्।
प्रधानमन्त्रीले सुकुम्वासी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएको उनको भनाइ छ।
उनले प्रधानमन्त्रीसँगको भेटमा कार्यपालिका र संसदबीच पर्याप्त संवाद र समन्वयको अभाव देखिएको विषय उठाएको बताइन्। संवादले नै देश र जनतालाई ऊर्जा र दिशा दिन सक्ने कुरा आफूले राख्दा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएको समेत बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।