बुटवल – विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।
विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोेकेको छ । अनि नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो।
विशेष अदालतले बरामद रकम नभएको अवस्थालाई आधार बनाउँदै दुवै प्रतिवादीबाट बिगो कायम नगरेको जनाएको छ। तर घुस कारोबारमा उल्लेख भएको तीन करोड आठ लाख रुपैयाँलाई दुई जनाबीच बराबर बाँडफाँट गरी प्रतिव्यक्ति एक करोड ५४ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।