काठमाडौं– सरकारले आगामी एक वर्षभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका १६ वटा विधेयक संघीय संसद्मा पेस गर्ने भएको छ।
सरकारले संसद्मा दर्ता गराउने कुल १६६ विधेयकको प्राथमिकता सूचीमा स्वास्थ्य मन्त्रालयका यी विधेयक समावेश गरिएको हो।
विधायनसम्बन्धी ऐनअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकहरूको प्राथमिकता सूची प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई हस्तान्तरण गरेकी हुन्। सम्बन्धित मन्त्रालयबाट प्राप्त प्रस्तावमाथि छलफल र परामर्शपछि प्राथमिकता सूची तयार गरिएको सरकारले जनाएको छ।
सरकारले विधेयकलाई तीन चरणमा वर्गीकरण गरेको छ। पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४५ र तेस्रोमा ५७ विधेयक छन्। पहिलो प्राथमिकताका विधेयक साउनदेखि कात्तिक, दोस्रो प्राथमिकताका मंसिरदेखि फागुन र तेस्रो प्राथमिकताका चैतदेखि असारसम्म संसद्मा दर्ता गराउने कार्यतालिका तय गरिएको छ।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका १५, अर्थ मन्त्रालयका १५, कानुन मन्त्रालयका १७, पूर्वाधार विकास मन्त्रालयका १६ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पनि १६ विधेयक आगामी एक वर्षभित्र संसद्मा प्रस्तुत हुनेछन्। यसबाहेक कृषि, वन तथा वातावरण मन्त्रालयका १३, गृह मन्त्रालयका ११, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ११ तथा अन्य मन्त्रालयका विभिन्न विधेयक पनि प्राथमिकता सूचीमा समावेश छन्।
प्राथमिकता सूचीअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विधेयकहरू चरणबद्ध रूपमा संसद्मा दर्ता हुनेछन्। यद्यपि आवश्यकताअनुसार प्राथमिकता परिवर्तन गर्न वा नयाँ विधेयकसमेत संसद्मा दर्ता गर्न सकिने व्यवस्था सरकारले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।