बेनी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ ।
दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत् गृह उपकरणमा चट्याङले क्षति पुर्याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।
चट्याङले विद्युत् गृहकाे एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका थिए ।
पचास किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा प्राकृतिक प्रकोप र चट्याङको कारण स्थानीयले हरेक वर्ष सास्ती बेहोर्दै आएका छन् ।
विद्युत् अभावमा रातको समयमा सिंगाे वडा अन्धकार बनेको छ भने विद्यार्थीलाई पठनपाठन, घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ ।
मोबाइललगायतका विद्युतीय सामग्रीको चार्ज गर्ने प्रबन्ध नहुँदा यहाँ सञ्चार सेवा प्रभावित बनेको छ । गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको भए पनि स्थानीयवासीको घरमा मिटरबक्स जडान र वायरिङ नहुँदा अहिलेसम्म केन्द्रीय विद्युतीकरण प्रयोगमा आएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।