काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सुरक्षाघेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढ्दै गएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रश्न गर्न नदिने प्रवृत्ति बढेको र लोकतन्त्रलाई संस्थागत हुन नदिने गरी एकपछि अर्को घटना भइरहेकाले आतंकको अवस्था सिर्जना भएको बताएका हुन्।
‘सरकार निरंकुश बन्दै गएको छ। सत्ताउन्मादले हुनुपर्छ,’ उनले भने, ‘सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ।’
मुगुका गणेश नेपालीले रोजेको बाटोबारे चौतर्फी प्रश्न उठेपछि सरकारमाथि प्रश्न गर्दा ‘प्रश्न सोध्ने तँ को होस्?’ भन्ने शैलीमा सरकारी व्यवहार देखिएको उनले आरोप लगाए।
उनले भने,’ श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’
कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् ।
राईले सरकारको शैलीलाई हिरण्यकश्यपसँग तुलना गर्दै सरकारमाथि प्रश्न गर्न नछाड्ने बताए।
उनले सुरक्षाघेराभित्रका एक व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसेका नागरिकलाई थर्काउने काम गरिरहेको आरोपसमेत लगाए। होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणबारे सरकार र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्नेमा अरूलाई दोष देखाएर पन्छिन खोजिएको उनको भनाइ थियो। उनले प्रधानमन्त्री बालेन शाहलाई श्री ८ सँग समेत तुलना गर्न भ्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।