काठमाडौं– प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सोमबार बिहान विभिन्न मिडिया हाउसका गेटमा अज्ञात व्यक्तिले गाडी पार्किङ गरेर छोडेर हिँडेको विषय उठेको छ।
सोमबार बसेको समिति बैठकमा सांसदहरूले यो विषय उठाएका हुन्। सांसदहरूले यो विषय उठाएपछि समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर का गेट अगाडि शङ्कास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।
सभापति बास्कोटाले उनले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध गर्ने निजी नम्बर प्लेट भएका सवारी साधनलाई ट्राफिक प्रहरीले हटाइसकेको जानकारी समितिलाई गराइन् ।
उनले भनिन्, ‘यहाँ बस्दाबस्दै ट्राफिक प्रहरीले ती गाडीहरू उठाइराखेको भनेर जानकारी आएको छ। यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ।’
सञ्चार माध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै बास्कोटाले यो घट्नाको गम्भीर रूपमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिन्।
‘मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस् यसलाई गम्भीर रूपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ ’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।