काठमाडौं– अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढ्दा कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ ।
होल्डिङ सेन्टर डुबानमा परेपछि सुरक्षाकर्मीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त टोली परिचालन गरिएको थियो ।
होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन् ।
उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्नसमेत पाएनन् । साथै, सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेको उनीहरूको गुनासो छ ।
उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ । अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् ।
हाल घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू सक्रिय भई प्रभावितहरूका लागि खाना, खानेपानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।