काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नभई समाज र राज्यको संवेदनशीलतासँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।
उनले घटनाले समग्र नेपाली समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै एक नागरिकको जीवन, परिवारले भोगेको असह्य पीडा र मानवीय संवेदनाको पक्षलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
थापाले कठिन अवस्थामा रहेको गणेश नेपालीको परिवारलाई कसरी सहयोग र साथ दिन सकिन्छ भन्ने विषयमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्। विगत वा वर्तमानमा कसको कमजोरी रह्यो भन्ने बहसभन्दा पनि यस्ता घटनाबाट राज्य सञ्चालन, सामाजिक अवस्था र नागरिकप्रतिको जिम्मेवारीबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ छ।
उनले यस्ता घटनाले राज्य, समाज र नागरिक सबैलाई केही आधारभूत प्रश्नमाथि सोच्न बाध्य बनाएको बताएका छन्। एक युवाले किन चरम निराशाको अवस्था भोग्नुपर्छ, आफ्ना समस्या व्यक्त गर्न किन यति कठोर कदम चाल्नुपर्ने अवस्था आउँछ र राज्यका सेवा तथा संयन्त्रप्रति नागरिकले किन असहाय महसुस गर्छन् भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले उल्लेख गरेका छन्।
थापाका अनुसार समाज, परिवार, राज्य र नागरिक तहबाट भएका कमजोरी पहिचान गरी भविष्यमा कुनै पनि व्यक्तिले यस्तो बाटो रोज्नुपर्ने अवस्था नआउने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको वास्तविक सम्मान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।