काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरीदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपत्र दायर गरेको छ।
अख्तियारले अस्पतालको फार्मेसी शाखामा काम गर्ने आठ जनालाई २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी–नोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अस्पतालको फार्मेसी शाखामा औषधि खरिद, मौज्दात र आपूर्तिसम्बन्धी प्रक्रियामा अनियमितता गरेको अख्तियारको ठहर छ।
अख्तियारले फार्मेसी युनिट इन्चार्जहरू दीपा ढुङ्गाना, रविन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा सहित स्टोर किपर विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने तथा फार्मेसी सहायक सन्दीप तिवारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै आरोपपत्र दायर गरेको छ।
आयोगले अस्पतालको फार्मेसी शाखामा कार्यरत ती कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नभएको अवस्थामा समेत सफ्टवेयरमा बिल प्रविष्ट गरेको, स्टोरमा ठूलो परिमाणमा म्याद गुज्रिएका औषधी थन्किएको तथा कम्प्युटरमा देखिएको मौज्दात वास्तविक रूपमा नभएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको, म्याद सकिएका औषधि आपूर्तिकर्तालाई फिर्ता नगरी प्रतिस्थापन तथा सोधभर्ना प्रक्रिया अघि नबढाएको, साथै म्याद गुज्रिएका औषधी स्टोरमा हुँदाहुँदै पनि त्यस्ता औषधी नभएको भनी गलत जानकारी दिएर सम्बन्धित कम्पनीहरूको धरौटी रकम फिर्ता गराइएको पाइएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।