काठमाडौँ– प्रिक्सा कम्पनीअन्तर्गतको ‘थर्ड फ्याक्टर एआई’ द्वारा विकसित अत्याधुनिक परिचय प्रमाणीकरण प्रविधि नेपाल सरकारको ‘नागरिक एप’ मा एकीकृत भएको छ ।
यसअघि निवृत्तिभरण (पेन्सन) व्यवस्थापन कार्यालयमा मात्र प्रयोगमा रहेको यो प्रणाली नागरिक एपमा जोडिएको हो । यो प्रविधि मूलतः पेन्सन व्यवस्थापन कार्यालयको ‘डिजिटल पेन्सन प्रमाणीकरण’ प्रक्रियाका लागि निर्माण गरिएको थियो ।
विगतमा पेन्सन बुझ्ने नागरिकहरूले प्रत्येक छ महिनामा आफू जीवित रहेको पुष्टि गर्न अनिवार्य रूपमा बैंकमा स्वयं उपस्थित हुनुपर्ने झन्झटिलो व्यवस्था थियो । तर, यो प्रविधिको सफल प्रयोगसँगै हाल तीन लाखभन्दा बढी पेन्सनरले बैंकका शाखा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । उनीहरूले अब घरबाटै सुरक्षित रूपमा आफ्नो परिचय प्रमाणीकरण गरिरहेका छन् ।
यस नयाँ एकीकरणसँगै पेन्सनरहरूले राष्ट्रिय परिचयपत्रमा रहेको आफ्नो विवरणसँग अनुहार प्रमाणीकरण (फेस भेरिफिकेसन) गरी केही सेकेन्डमै घरबाटै आफ्नो परिचय पुष्टि गर्न सक्नेछन् ।
प्रमाणीकरण प्रक्रियामा दुई वटा स्वचालित जाँचहरू हुने गर्छन् । प्रणालीले सुरुमा नागरिकको सरकारी अभिलेखमा रहेको तस्बिरसँग प्रत्यक्ष अनुहार मिलान गर्छ र त्यसपछि राष्ट्रिय परिचयपत्रमा समावेश विवरणहरूको स्वचालित प्रमाणीकरण गर्छ । यी दुवै जाँच सफल भएपछि मात्र पेन्सन प्रमाणीकरण प्रक्रिया अगाडि बढ्ने हुनाले यो प्रविधि अत्यन्तै भरपर्दो मानिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।