काठमाडौँ– सरकारले कालिगण्डकी करिडोर अन्तर्गत पर्ने कोरला सडकलाई पर्यटन प्रवर्द्धन केन्द्रित राजमार्गका रूपमा स्तरोन्नति गर्ने तयारी अघि सारेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडकराज पौडेलले मुस्ताङमा आयोजित पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै भैरहवादेखि कोरला नाकासम्मको सडकलाई छिटो स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा रूपान्तरण गर्ने योजना रहेको जानकारी दिएका छन्। उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न भएको हो।
मन्त्री पौडेलका अनुसार आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सरकारी लक्ष्यअनुसार कोरला मार्गलाई विशेष प्राथमिकतामा राखिएको छ। यससँगै मुस्ताङ-डोल्पा सडकलाई पनि उच्च प्राथमिकताका परियोजनामा समावेश गरिएको उनले उल्लेख गरेका छन्।
उनले मुक्तिनाथ क्षेत्रमा उचाइका कारण पर्यटकलाई देखिने स्वास्थ्य समस्या बढ्दै गएकोप्रति ध्यानाकर्षण गराउँदै यात्रु व्यवस्थापनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छन्।
कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध संघ-संस्था तथा व्यवसायीहरूले सम्भावना र चुनौतीका विषयमा छलफल गर्दै मन्त्रीसमक्ष विभिन्न सुझाव तथा सरोकार प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।