काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि विश्व फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन फुकाउन सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले फिफाले तोकेका सबै सर्त यथाशीघ्र पूरा गरी एन्फामाथिको निलम्बन हटाउने वातावरण बनाउनुपर्ने बताए ।
खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले उठाएको तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस् । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुनअनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गरियोस्,’ उनले भने ।
सांसद राईले खेलकुद ऐन र फिफाका नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाउनुपर्ने पनि माग गरे । खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियमन कायम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समस्या निम्त्याउने राजनीतिक तथा प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाइयोस् । खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समस्या निम्त्याउने राजनीतिक, प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस् । राष्ट्रिय टोली क्लबका खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै सर्त पूर गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानुनी र प्रशासन पहल तत्काल अगाडि बढाइयोस् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।