विराटनगर– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन् ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताएका हुन् ।
‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ,’ उनले भने, ‘पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ ।’ उनले तत्काल पार्टी एकता नगरेपनि सहकार्य गरेर अघि बढ्ने बताए ।
‘अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ, सहकार्य पार्लियामेन्ट्री संघर्षमा, सडक सङ्घर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्याउन सकिन्छ,’ उनले भने, ‘पार्लियामेन्टमा हामी एउटा शक्तिको साथ उपस्थित हुन सकिन्छ । त्यसकारण दोस्रो हामीले भनेका छौं सहकार्य वामपन्थीहरूसँग ।’
आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको गालीलाई सामान्य रूपमा लिँदै प्रचण्डले कार्यकर्ताहरूलाई बोल्ड भएर अगाडि बढ्न आग्रह गरे । आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताए । ‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्,’ उनले भने, ‘नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनु र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ । प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।