काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गर्ने निर्णय गरेको छ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पटक-पटक चेतावनी दिँदै आएको फिफाले अन्तत नेपाललाई निलम्बन गर्ने निर्णय गरेको हो।
फिफा काउन्सिलको बैठकले नेपाललाई आजकै मितिबाट लागु हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
उसले विधानको धारा १४ को १ (आइ) र ३ अन्तर्गतको गम्भीर उल्लंघन भएको भन्दै नेपाललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।
यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त आफ्ना सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाको प्रतिनिधित्व गर्ने टोली तथा क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्।
यसका साथै, एन्फा वा उसँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसी (एशियन फुटबल कन्फेडेरेसन) ले सञ्चालन गर्ने विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट कुनै पनि प्रकारको लाभ लिन नपाउने फिफाले स्पष्ट पारेको छ।
फिफाले आगामी दिनमा कुनै पनि समय फिफा कंग्रेस बस्नुअघि नै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले आवश्यक ठानेमा यो निलम्बन फुकुवा गर्न सक्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।