चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिहान ९ बजेदेखि हुने भनिएको मतदान लम्बिने भएको छ । ९९ जना केन्द्रीय सदस्य पदको लागि हुने निर्वाचनमा अहिलेसम्म निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन ।
खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ । तर आयोगले उम्मेदवारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।
'बिहान ४ बजेसम्म काम गरेर सबै प्राविधिक कुरा मिलाई सकेका छौं । आयोगबाट उम्मेदवारको लिस्ट आउने बित्तिकै क्लस्टरको आधारमा अगाडि सेटिङ मिलाउँ छौँ । सबै प्रक्रिया मिलाउँदा ढिलो हुन्छ', रातोपाटीसँग पाण्डेले भने ।
मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने उनले जानकारी दिए । ९९ केन्द्रीय सदस्य पदका लागि ४०० बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ । मतदानमा झन्डै ४५ सयको हाराहारीमा छ । यदि सबैले मतदान गरे भए कम्तीमा १५ देखि बढीमा २० घण्टासम्म लाग्ने पाण्डेले बताए ।
आयोगले मतदानका लागि दुई वटा प्रक्रिया अवलम्बन गरेको । प्रवासका लागि एपबाट हुनेछ । सभापतिमा रवि लामिछाने निर्विरोध भैसकेका छन् । पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ ।
रास्वपामा १९ पदाधिकारी र १५१ सदस्य केन्द्रीय समितिको व्यवस्था छ । रास्वपाले मतदानको लागि राम-लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ । मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको पाण्डेले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।