काठमाडौं– स्थापनाको आर्थिक वर्षमा ४ लाखबाट सुरु भएको रास्वपाको आम्दानी आर्थिक वर्ष २०८२/८३ मा आइपुग्दा १२ करोड २४ लाख पुगेको छ । पार्टीको प्रथम महाधिवेशनमा पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले पेस गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
‘आयतर्फ आर्थिक वर्ष २०७८/७९ मा मात्र ४ लाख १० हजार आयबाट सुरु भएको पार्टीको कुल आम्दानी आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा उत्साहजनक रूपमा वृद्धि भई १२ करोड २४ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ को कुल आम्दानीमा चन्दा तथा सहयोगको योगदान ५१ दशमलव ४३ प्रतिशत, प्रत्यक्ष तथा समानुपातिक सांसदका उम्मेदवारबाट प्राप्त शुल्कको योगदान २६ दशमलव ६१ प्रतिशत, सदस्यता शुल्कको योगदान १७ दशमलव ९८ प्रतिशत छ भने लेबीबाट प्राप्त रकमको योगदान २ दशमलव ५२ प्रतिशत छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै, व्ययतर्फ आर्थिक वर्ष २०७८/७९ मा २ लाख २६ हजार व्यय रहेको पार्टीको कुल खर्च आर्थिक वर्ष २०८२/८३ मा ७ करोड १५ लाख ५९ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘आर्थिक वर्ष २०८२/८३ को कुल व्ययमा कार्यालय सञ्चालन खर्चको भार ३९ दशमलव ५३ प्रतिशत छ भने निर्वाचन खर्चको भार ३० दशमलव ६९ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ ।
पाँचवर्षीय वित्तीय यात्रामा कुनै वर्ष घाटामा रहेको, कहिले पार्टी कार्यालयको घर भाडा तिर्न नसक्ने अवस्था आएको, कहिले ऋण लिनुपर्ने अवस्था पनि आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।