काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने सदस्यलाई पार्टीले सम्मान गर्ने भएपनि सदस्यको रूपमा नचिन्ने बताएका छन्। आज झापा पुगेका सभापति थापाले इतर पक्षका नेताहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन्।
इतर पक्षका नेताहरूलाई संकेत गर्दै उनले भने, ‘म सबै नेताहरूलाई सम्मान पनि गर्छु। सबै नेताहरूले अधिवेशनमा भाग लिनुपर्छ भन्ने पनि ठान्छु। तपाईँहरू मध्ये कसैले अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला। अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यको रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।’
उनले सदस्यता अद्यावधिक नगर्नेलाई सिस्टमले नै क्रियाशील सदस्यको रूपमा नचिन्ने बताए।
उनले भने, ‘अब वडाको अधिवेशन सुरु हुन्छ। त्यो बेलामा अद्यावधिक नभएको साथीहरूको तल निर्वाचनको प्रतिनिधिले कपी बोकेर आउँदै गर्दा अद्यावधिक नभएको साथीको बोकेर आउनु हुन्न। सिस्टममा आउँदैन।’
उनले पार्टी युवाहरू नेतृत्वमा आउँछ आफूलाई खुसी लाग्ने गरेको बताए।
उनले थपे, ‘नयाँ पुस्ताका कांग्रेस चलाउन सक्ने एक से एक साथीहरू आएका छन्, यिनीहरूलाई देखेर खुसी पो लाग्छ। अब यिनले सम्हाल्छन् कांग्रेस भनेर। झ्याम्म कुर्सी समातेर अड्काएर बसेर छ त्यसपछि गएर हल्लिन पनि पाउँदैन, उठ्न पनि पाउँदैन, दायाँ पनि गर्न पाउँदैन यसरी चल्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।