चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको छ।
सोमबार बिहान ८:३० मा सुरु हुने भनिको बन्दसत्र प्राविधिक कारणले सोमबार सुरु हुन नसकेको भन्दै आज दिउँसो १ बजेबाट सुरु हुने पार्टीका एक नेताले जानकारी दिएका छन्।
यतिबेला चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रवेश कार्ड वितरणको काम भइरहेको जानकारी दिए।
बन्दसत्र सुरु भएलगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ । जसअन्तर्गत सुरुमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने कार्यसूची छ। त्यसैगरी, पार्टी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
आजै दिउँसो ३:४५ देखि ४:४५ सम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र सोको अनुमोदन गरिने कार्यक्रम छ।
यसैगरी पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन् भने सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। सभापतिको प्रतिवेदनमाथि साँझ ६:३५ सम्म छलफल र प्रस्तुतीकरणको समय तोकिएको छ।
बन्दसत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको गठन घोषणा गर्नेछन्। यससँगै आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची छ।
कार्यक्रमको अन्त्यमा निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समयतालिका प्रकाशन गर्नेछ, जसपश्चात् नेतृत्व चयनको प्रक्रिया निरन्तर अगाडि बढ्ने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।