काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै सेनाको प्रयोग नभएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले सो धारणा राखेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष सांसदहरूले सुकुम्बासी बस्ती हटाउने क्रममा किन नेपाली सेनाको प्रयोग गरिएको हो भन्ने प्रश्नको जवाफमा उनले सुकुम्बासी बस्तीलाई स्थानान्तरण गर्ने क्रममा कुनै पनि स्थानमा सेना नखटाएको स्पष्ट पारे ।
जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको उनले बताए ।
वाग्लेले मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकका सबै भू-भागमा आवश्यकताअनुसार नेपाली सेनालगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।