काठमाडौँ – पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विवादित अभिव्यक्तिको विषयमा प्रष्टीकरण दिएका छन् ।
विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने’ भनाइको घुमाउरो जवाफ दिएका हुन् ।
मन्त्री लम्सालले हालै दिएको अभिव्यक्तिबारे एमालेका प्रमुख सचेतक ऐन महरले जवाफ मागेका थिए । महरको प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले आफूले ठेकेदारलाई धम्क्याउने उद्देश्यले नभई काम सम्पन्न गराउन र उनीहरूलाई सम्भावित क्षतिबाट जोगाउन उक्त कुरा भनेको दाबी गरे ।
‘अस्ति त पोलको विषयमा म आफैँ पनि विवादमा आएँ,’ उनले भने, ‘हामीलाई कुनै पनि व्यवसायीलाई कारबाही गर्न र ठेक्का रद्द गर्न मन छैन । हामीले उहाँहरूको सम्भावना एक प्रतिशत मात्रै छ भने पनि हामीले पुस गर्नुपर्छ भन्ने नै हो ।’
मन्त्री लम्सालले आफ्नो अभिव्यक्तिको आशय गलत रूपमा बुझिएको जिकिर गरे । 'उहाँहरूलाई बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको हो । उद्देश्य त्यही हो । कसैलाई गाली गर्ने वा धम्क्याउने मनसाय छैन । काम समयमा सम्पन्न होस् भन्ने चाहना मात्र हो । काम गरिदिनुभयो भने हामी खुसी हुन्छौँ । हामीले भनेको कुरा उहाँहरूलाई सम्भावित समस्याबाट जोगाउनकै लागि हो,' मन्त्री लम्सालले थपे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।