काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरण अनुसन्धानका लागि पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवालाई बयानका लागि म्याद तामेल गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका– २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले राणाको म्याद तामेली गराएका हुन् । देउवानिवास उनको वडामा पर्ने भएका कारणले तामेली गराएका हुन् ।
‘आयोगले गत मंगलबार देउवाको भग्नावशेष निवासमा आरजु राणाको नाममा बयानका लागि उपस्थित हुनका लागि म्याद तामेल गरेको हो, वडाध्यक्ष श्रेष्ठले भने, ‘म्याद तामेल भएको समयमा उपस्थित नभए कानुन बमोजिम अघि बढ्ने भनिएको छ ।’
देउवा दम्पत्ति उपचारका लागि भन्दै ४ महिना अघि सिंगापुर गएका थिए । सिंगापुरबाट नेपाल नफर्केकाले राणाका घर ठेगानामा आयोगले म्याद तामेल गरेको हो ।
उक्त ठेक्का प्रकरणमा आरजुको प्रत्यक्ष संलग्नता नदेखिए पनि परराष्ट्रमन्त्रीको हैसियतमा उनको पनि संलग्नता हुन सक्ने आशंकाका कारण आयोगले बयानमा बोलाएको हो । आयोगमा भएको कागजात केलाउँदा, गत वर्षको पासपोर्ट खरिद प्रक्रियामा उनले निर्णय गरेको देखिँदैन तर निर्देशन दिएको भन्ने आधारमा मात्रै बयानमा बोलाउन लागेको हो ।
कार्यालय प्रमुख (राहदानी विभागका महानिर्देशक) को तहबाट टुङ्गिने खरिद प्रक्रियामा त्यो भन्दा माथिल्लो तहका अधिकारीहरूको समेत कागजी संलग्नता रहँदैन । आयोगमा उनी विरुद्ध परेको उजुरीका आधारमा बयानमा बोलाउन लागेको आयोग स्रोतले जानकारी दियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।