काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बुधबार अदालतले थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।
मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए। भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो । अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो ।
प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते र गोल्छालाई वैशाख १० गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका निम्ति पक्राउ गरेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) को अनुसन्धानपछि तयार पारिएको अभियोगपत्रमा भट्टविरुद्ध अभियोजन पक्षले आर्थिक वर्ष २०७४–०७५ मा उनको स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्याङ्कनमार्फत ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम थप सम्पत्तिका रूपमा देखाइएको उल्लेख थियो ।
भट्टकै इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७–०७८ मा ४५ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०७९–०८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको दाबी अभियोगपत्रमा गरिएको थियो। सो रकम बैंकिङ कसुर तथा कर्जा अपचलनमार्फत प्राप्त स्रोतबाट लगानी गरिएको आशंका प्रहरी अनुसन्धानमा गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।