काठमाडौँ– सरकारले सुकुमवासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार महिनाको तेस्रो सातादेखि प्रमाणपत्र वितरणको काम सुरु गर्ने जानकारी दिएकी छन् ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री रावलले भूमिहीन व्यवस्थापनसम्बन्धी कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठकमा सुकुमवासीलाई लालपुर्जा उपलब्ध गराउने सरकारको योजना स्पष्ट पार्न माग गरेका थिए । उनले काठमाडौँसहित विभिन्न क्षेत्रमा रहेका भूमिहीन नागरिकको व्यवस्थापन, बसोबास र वैकल्पिक व्यवस्था सम्बन्धी विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
साम्पाङले विस्थापित गरिएका सुकुमवासीलाई राखिएको अस्थायी व्यवस्थापन केन्द्रको अवस्था र त्यहाँको सेवा सुविधामाथि समेत प्रश्न उठाउँदै नागरिकको दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखेका थिए ।
जवाफमा मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक तयारी अघि बढिसकेको बताइन् । उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले संरचनागत रूपमा काम गरिरहेको उल्लेख गरिन् ।
मन्त्री रावलका अनुसार विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको प्रक्रिया अहिले भूमि सम्बन्धी समितिमार्फत अघि बढाइएको छ । सोही संयन्त्रबाट सुकुमवासी र भूमिहीन नागरिकको व्यवस्थापन तथा जग्गासम्बन्धी काम अगाडि बढाइने उनले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।