काठमाडौँ –प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन्।
यससँगै १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै नियुक्त भएका दुई मन्त्रीको वरियता क्रमसमेत निर्धारण गरिएको छ।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको कार्यविभाजनअनुसार गृहमन्त्री नियुक्त भएका सुधन गुरुङ मन्त्रिपरिषद्को पाँचौँ वरियतामा रहेका छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन आठौँ वरियतामा परेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको हो। सोही क्रममा गुरुङलाई गृह मन्त्रालय र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
राष्ट्रपति कार्यालयका अनुसार मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त दुवै मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।