काठमाडौं– बैशाख २९ गते नुवाकोटको म्यागम गाउँपालिका–४ स्थित किम्ताङ बेसीका दाजुभाइको हत्याको मुख्य कारण कुलोको विवाद रहेको खुलेको छ । ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षका सूर्यमान तामाङको उक्त दिन हत्या भएको थियो । वैशाख ३० मा बिहान किम्ताङ खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा शव भेटिका दाजु भाइको भरुवा बन्दुक प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू वैशाख ३१ मा पक्राउ परेका हुन् । हत्यापछि भागेका उनीहरूलाई धादिङको खनियाबास गाउँपालिका वडा नम्बर–५ बाट पक्राउ गरिएको हो ।
किम्ताङ खोलामा बन्दै गरेको कुलोको पेटी ठेक्काको विवादमा दाजुभाइको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मृतक दाजुभाइ यसअघि पनि गाउँमा ठेक्कापट्टा गर्थे । हत्यामा संलग्न धने र माइला मजदुर हुन् । बन्दै गरेको कुलोमा उनीहरुले काम गर्न खोजेका थिए । समराज र सुर्यमानले ठेक्का अर्कैले पारेको हुनाले आफूहरूले काम दिन नसक्ने बताएपछि उनीहरूको बिचमा विवाद चर्केको थियो । उनीहरूको बिचमा त्यसअघिको पुरानो विवाद पनि कायमै रहेको डीएसपी विक्रम लामाले बताए । यसअघि पनि उनीहरूको बिचमा झगडा भएको थाहा भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।