काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरहरूको बाटो भएको बताएका छन् ।
छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको विश्लेषणप्रति पोखरेलले कटाक्षा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दै अनुकूलतामा बदल्ने काम गर्ने लेखेका छन् । ‘संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो हो । एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दछ र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्दछ’, उनले भनेका छन् ।
भारतको केरला राज्यमा भएको वामपन्थीको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएकोमा पोखरेलले असन्तुष्टि जनाएका छन् । केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास रहेको स्मरण गर्दै उनले अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको स्पष्ट पारेका छन् ।
पोखरेलले नेपालको वामपन्थीको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण बताएका छन् ।
‘अहिलेको हार केबल वामपन्थको मात्र हार होइन, यो नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार हो’, उनले भनेका छन् ।
त्यसैले अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रूपमा रहेका शक्तिहरूले यस प्रकारको हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्याङ्कन गर्नु तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु रहेको उनले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।