काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङ र विवादास्पद व्यवसायी दीपक भट्टबीचको कथित व्यावसायिक साझेदारीबारे सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्युरेन्स कम्पनीमा गृहमन्त्रीको नाममा सेयर रहेको भन्दै सार्वजनिक भएका कागजातपछि विषय थप संवेदनशील बनेको उल्लेख गर्दै लिङदेनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई स्पष्टीकरण दिन आग्रह गरेका हुन्।
काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले सुशासनको प्रतिबद्धता व्यक्त गर्ने सरकार स्वयं विवादित विषयमा मौन बस्नु उचित नहुने टिप्पणी गरे। उनका अनुसार यस्ता प्रश्नहरूमा पारदर्शी उत्तर नदिँदा सरकारप्रतिको विश्वास कमजोर हुने अवस्था सिर्जना हुन्छ।
लिङदेनले सरकारले देखावटी शैलीमा मात्र काम गरिरहेको आरोप लगाउँदै राज्य सञ्चालन प्रक्रियामा गम्भीरता आवश्यक रहेको बताए। उनले अनधिकृत संरचना हटाउने नाममा अपनाइएका कदमले जनतामा असहजता र त्रासको वातावरण सिर्जना गरेको दाबी पनि गरे।
त्यसैगरी, वर्तमान राज्य संरचनामा वैकल्पिक राजनीतिक तथा संस्थागत बहस आवश्यक रहेको उल्लेख गर्दै उनले राजसंस्थालाई राष्ट्रको अभिभावकीय भूमिकामा पुन:स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमका क्रममा उनले निर्वाचनमा पार्टीलाई अपेक्षित सहयोग नगर्ने नेता तथा कार्यकर्तामाथि संगठनात्मक कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।