काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वाेच्च अदालतको निर्णयले कांग्रेस पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।
पार्टीको आधिकारिकता विवादसम्बन्धी सर्वाेच्च अदालतले गरेको निर्णयबारे प्रक्रिया दिँदै सभापति थापाले यस्तो बताएका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुनै जितहारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’
साथै, उनले पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु, र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु’, उनको प्रतिबद्धता छ ।
उनले १५औँ महाधिवेशनलाई सफल बनाउन र उपयोग गर्न अनुरोध गर्दै अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्नसक्ने र समुन्नत नेपाल बनाउन योगदान दिनसक्ने पार्टी बनाउन एकढिक्का भएर लाग्नुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।